जन्मेको लगभग तीन दशक पार गरिसक्दा म आज यस्तो मोडमा छु, जहाँ बाट आफ्नो प्रगती हेर्दा सोचे जस्तो राम्रो नभए पनि पछुतो भने छैन, किनभने मैले जे जति गर्न सकें र त्यसको बापत जे पाउन योग्य छु जस्तो लाग्छ त्यती पाएको पनि छु, तर जिन्दगीबाट गुनासो के छ भनेर कसैले सोध्छ भने एउटा मात्र हुन्छ त्यो हो, “मैले मेरो देश बनेको देख्न पाईन” |
ekantipur.com
गाउँमा जन्मे हुर्केको मैले बस्तु भाउ हेर्ने, हाट बजार जाने सानै देखि गर्नु पर्यो | आँगनको रातोमाटोमै लडीबुडी गर्दै, बेला बेला सिगान चाख्दै, रुदै र खेल्दैमा बाल्यकाल बितेछ, अलि बुझ्ने भएपछि आमाले भनेर थाहा पाएको, नत्र सिगान चाखेको के याद हुन्थ्यो | अलि ठुलो भएपछि उमेर अनुसारको काम गर्न थाले, स्कुल पनि कहिलेकाँही गएकै हो, पढेकै हो तर खै कसरी पास चाहिँ गर्दै गएछु! राम्रै भयो | एस.एल.सी को समयमा बुवाले पढाईमा अलि समय बितओस भनेर परिक्षा हुन्जेल घरको काम यसलाई अलि काम लगाउनु भनेर आमालाई भन्नु भएको थियो, त्यस्तै भयो र एस.एल.सी सेकेन्ड डिभिजन पास गरे, असाध्यै मिल्ने दुई जना साथीहरु हरि र ऋषिराम फेल भए, नरमाईलो लाग्यो |
खासै मन नभएपनि घरका सबैको करकाममा परेर क्याम्पस पढ्न भनेर काठमाडौँ आए | त्यसबेला जम्मा सत्र घर धुरी भएको सानो गाउँमा बस्दै आएको मलाई काठमान्डू त सारै अजंगको र डरलाग्दो लाग्यो, कोठा बाहिर निस्किन्न थिए खासै | ठुलाबा को कान्छो छोरो एउटा सानो कोठा लिएर मैतिदेवी मन्दिरको छेउमा बस्थे तेती बेला, पहिलो तीन महिना मा पनि ती दाइ संगै बसे, बिस्तारै काठमाडौँको बानी पर्दै गयो | चौथो महिना देखि अर्कै कोठा लिए र एक्लै बस्न थाले, त्यो बेला सम्म आफै गाडी चडेर क्याम्पस जन आउन सक्ने भैसकेको थिए | असहज भएपनि जसो तसो बिद्यार्थी जीवन काट्दै थियो |
स्कुले जीवन देखिनै देशको राजनिती, हाम्रो देशको अवस्था आदि कुरामा चासो लाग्थ्यो मलाई | माओबादी बिद्रोहमा भए देखि अहिले सरकार चलाउने बेला सम्म आईपुग्दा देशमा जे जे भयो त्यो सबै कुराको ठिक ठिकै ज्ञान थियो मलाई | सानै देखि नेपाल एउटा गरिब देश हो भन्ने पाठ पढाउदै आएका हामीलाई सानो छंदा देशलाई धनी बनाउनका लागिनै माओबादीले पुलिस मार्दै हिडेको र जुन दिन सबै पुलिस मरिसक्छन त्यो दिन देश धनी हुन्छ भन्ने जस्तो लाग्थ्यो | तर एस.एल.सी ताका चिनेकै प्रहरी हरूको लास माओबादी ले रक्ताम्मै परेर आँगनभरि लड़ाको देख्दा त्यो ठिक होइन जस्तो लग्न थालिसकेको थियो | काठमान्डूमा बसेर अलि जान्ने बुझ्ने मान्छेहरुको कुरा सुन्दा झन् मजाले बुझ्ने मौका पाए र चासो पनि झन् बढेर गयो |
मैले आइ.ए सकेको एक महिना पछि ऋषिराम पनि काठमाडौँ आयो र संगै बस्न थालेउ, हरि भने गाउँमै थियो | त्यो बेला सम्ममा एउटा म्यान पावर कम्पनी मा जागिर खान थालिसकेको थिए, तलब थियो तीन हजार | बिस्तारै समय बित्दै गयो, र ज्ञान पनि बढ्दै गयो | टि.भी, रेडियो, पत्रपत्रिका र भर्खरै सुरु हुदै गरेको इन्टरनेटको युगले मलाई बिदेशी जीवनशैली, छिमेकि देशले गरेको बिकाशको बारेमा धेरै कुरा सिकायो अनि मैले तुलना गर्न थाले अरु देश र हाम्रो देशको | हामीजस्तो देश अरु नभएको त हैन, हामी भन्दा दरिद्र देश नि थिए | तर मलाई राम्रा र बिकसित देशको बारेमा बुझ्न मन लाग्यो, खोजि खोजि पढ्न थाले, बिस्तारै देशका नेताहरु देखि रिस उठ्न थाल्यो | तर नेताहरुसंगको रिस एकापट्टी, यथार्थ एकापट्टी, काम गर्नुनै पर्यो, पेट पाल्नै पर्यो |
देशको हरेक अंगको व्यवस्थाको बारेमा बुझ्न थाले, सबै भन्दा भ्रष्टाचार हुने ठाउ मालपोत कार्यालय भनिन्थ्यो त्यो बेला, अत्यन्तै घिनलाग्दो प्रणाली रहेछ हाम्रो देश चलाउने जस्तो लाग्थ्यो | एक मनले देशका दुखि गरिब जनतालाई सम्झिंथे अर्को मनले ती पापी, भ्रस्ट नेता | दरिद्र नै नभए पनि मेरा बाबु आमा पनि गाउँमा सुख संग भने बसेका थिएनन्, त्यो सम्झिदा झनै पारा तातेर आउथ्यो |
प्रकृतिले यस्तो संग सिंगारेको देश विश्वको सबैभन्दा सुन्दर देश बन्न सक्छ जस्तो लाग्छ मलाई | यति मिठा भाषाहरु छन्, यति धेरै विविधता भएको देश, खै कसको आँखा लागेछ | पुर्खाहरुले आफ्नो ज्यानको आहुति दिएर बनाएको मेरो देशलाई आज आफ्नो निजि स्वार्थका लागी प्रयोग गरिराखेका छन् यी कपुत नेता भनाउदाहरुले | कोही खोला बेच्ने, कोही डाँडा बेच्ने कोही आफ्नो चरित्रनै बेच्ने | देशमा कति चरणमा आन्दोलन भयो, लाग्थ्यो अब चाही देशले कोल्टे फेर्छ, अब नेपाल समृद्ध बन्छ, हामी पनि बिकसित देश हुन्छौ तर बास्तवमा हुन केहि सकेन, केहि पाउछौ होला भनेर आश गरेको तेत्रा आन्दोलन बाट देशले पाउन भन्दा धेरै गुमायो |
देशलाई माया गर्ने, जनतालाई खुसि देख्न चाहने नेता यो देशले कहिल्यै पाएन | कति रुदी हुन् नेपाल आमा, यी भ्रस्ट नेताहरुले गर्दा देशले कति छोरा गुमायो, कतिको सिन्दुर पुछियो, कति बालबालिका टुहुरा भए, यति धेरै बलिदान देशले गरिसक्दा पनि उपलब्धि केहि हुन सकेन, यो एउटा ठुलो बिडम्बना हो | आफ्नो ज्यान, परिवार, भविष्यको केहि वास्ता नगरी देशको लागी गोलि थप्न तयार भएका हाम्रा शहिदहरू सुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दले बलिदान दिएको यो देशमा हजो आज बाटोकाट्दै गर्दा दुर्घटना भइ मृत्यु भएमा सम्प्रदायिक मुद्दा बनाएर शहिद घोषणा गर्ने माग राख्ने चलन छ र शहिदको परिभाषा नै परिवर्तन भएको छ जुन एकदम गलत हो |
www.america.aljazeera.com
देशमा भएको आन्दोलनको ईतिहास हेर्ने हो भने जुन अभिप्रायले आन्दोलन को बिउ रोपिएको थियो त्यो बिउको टुसो कहिल्यै पलाएन | सात सालको क्रान्ति भन्दा यताको मात्र कुरा गर्ने भए पनि सड्सठी वर्षमा नेपाल कहाँ पुगिसक्नु पर्ने र नेपाल अहिले कहाँ छ, कुरा प्रस्ट छ |
तर बिगतको कुरा गरेर रुनु भन्दा भविष्य उज्यालो बनाउनु राम्रो हुनाले आशाबादी होऔ | देशमा चुनावको माहोल छ |
म चाही आशाबादिनै छु, जसो तसो देशमै ईलम गर्दै छु, गुजारा चलाई राख्या छु | देशले राम्रो नेतृत्व पओस, भावी पुस्ताले आफ्नो भविष्य बनाउन बिदेशी प्रवेसाज्ञा, डी.भी आदिकुराको भर पर्नु नपरोस, नेपालले समृद्ध बन्ने बाटो छिट्टै पत्ता लगाओस | सबैको नेपालीको भलो होस्!